Tuesday, September 13, 2016

बाबुराम भट्टराई ज्यु, कोरियामा तपाईले ‘यी’ देख्नुपर्छ


निकुञ्ज तिवारी....

पछिल्लो समय ‘नयाँ शक्ति’ को भातृसंगठन ‘अन्तराट्र्रिय नेपाली समाज’ दक्षिण कोरियाले सिंगो कोरियालाई विभिन्न क्षेत्रमा विभाजन गरी संगठन विस्तार गरिरहेको छ ।

त्यही समाजले आउँदै गरेको कोरियन महान् चाड ‘छुसक’ को सार्वजनिक विदाको दोस्रो दिन सेप्टेम्बर १५ मा पूर्व प्रधानमन्त्री र हाल नयाँ शक्तिका संयोजक तपाई डा. बाबुराम भट्टराईलाई कोरियामा निम्त्याउँदै छ ।

तर, केही समय पहिला हालका प्रधानमन्त्री पुष्पकमल दाहालको अस्ट्रलिया भ्रमण क्यान्सिल भएको थियो । त्यसरीनै, कतै उल्टापल्टा नभएमा । या, यसरी बुझौं । कोरिया सरकारसमक्ष हजारौ सर्वसाधारण नागरिक मारेको आरोप नपुगेमा । हजारौं नागरिक अंगभगंहुने गरी अपाङ्ग बनाएको आरोप नपुगेमा ।

कैयंन नागरिक बेपक्ता र कैयनं बालबालिका टुहुरो बनाइ सत्तामा आयको आरोप नपुगेमा । देशमा द्धण्द्ध श्रीर्जना गरी खर्बौको धनजनको क्षति गराएको आरोप नपुगेमा ।

र आफ्नो मुलुकभित्र कार्यरत अदक्ष आप्रवाशी श्रमिकहरुलाई राजनीतिक झण्डा ओडाइ यहाँको स्वतन्त्रतामाथि खलबल पुग्ने आरोप नपुगेमा । तपाईलाई कोरियाको अध्यागनम विभागले इन्ट्री दिनेछ ।
सेप्टेम्बर १६ मा राजधानी सउलस्थित एक हलमा आयोजित ‘आर्थिक विकास र समृद्ध नेपाल निर्माणमा नयाँ शक्तिको भूमिका’ विषयक भेलालाई तपाईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कोरियन नागरिकहरुको रातदिन खटाइले समृद्ध भएको मुलुकमा आएर तपाईले ठूल–ठूला नारा ओकल्नुहुनेछ । चन्द्रमानै पुग्ने आट देखाउनुहुनेछ । केहि वर्षपछि कोरियाभन्दा अगाडि बढ्ने गफ चु्ट्नुहुनेछ । विपक्षि राजनीतिक दलको खेदो खन्नुहुनेछ । बर्तमान सरकारको खुट्टा तान्नुहुनेछ । रोजीरोटीका लागि मजदुरी गर्न आएका केहि युवाहरुलाई उक्साउनुहुनेछ । अनि उनिहरुलाई राजनीतिकको बेरङ्ग पोताउनुहुनेछ ।

तपाईको चतुर गला देशको आर्थिक विकास र समृद्धमा भन्दा आफ्नो कार्यकता बढाउनेमा बढि फोकस हुनेछ । र तपाईले आफूँ पुरानो भएपनि नयाँ शक्ति गठन गर्न सकेकोमा मख्ख पर्नुहुनेछ । पार्नुहुनेछ ।

भ्यायसम्म अग्ला–अग्ला भवनको छेऊ, सामुन्द्रिक किनार, सफा र फराकिला सडक किनार, सुन्दर र रमणीय पार्क, व्यस्त शहर–बजार, गएर फोटो खिचाउँनुहुनेछ । अनि मनमनै यो देशको उच्च पदमा रहेको सपना देख्नुहुनेछ । कल्पना गर्नुहुनेछ । र ओठमा ङिच्च मुस्कान देखाएपनि मनमस्तीष्क गहुङ्गो बनाएर फर्कनुहुनेछ । जसरी पहिला आएका एक पूर्वप्रधानमन्त्रीले गरेका थिए ।

सम्भवत ः तपाईको कोरिया भम्रण पहिलोपटक हो । र म चाहान्छु । नेपालका राजनीतिक दलका शीर्ष नेताहरुले कोरिया देख्नुपनि पर्छ । एकै पुस्तामा सम्भव भएको यहाँको चरम विकासको नमुना प्रत्यक्ष हेर्नु पनि अन्यन्त आवश्यक छ ।

यो अर्थमा की, सन् १९५० को दशकमा गृहयुद्धले तहसनहस भई भोकमरीले तड्पीएको दक्षिण कोरियालाई तपाईका बुवा, बाजेले खाधान्न सहयोग पठाउनुभएको थियो । त्यसको ५० वर्षपछि तपाईले मानवशक्ति सहयोग पठाइरहनुभएको छ । फरक यत्ति हो–बाबुबाजे सिमित खाद्यान्न मात्र सहयोग गरेका थिए ।

अहिले तपाईले बार्षिक पाँचदेखि सातहजार मानवशक्ति सहयोग पठाइरहनुभएको छ । र त्यीमध्य तपाईका सयौं कार्यकताहरु कोरियाको विकासमा दचचित्त भई अहोरात्र खटिइरहेका छन् ।

र तपाईले देख्नुपर्छ विश्वविद्यालयको डिग्री लिएर म्याचुड भएकादेखि जुगाँको रेखी नपलाएका कलिला हजारौं अनुहारहरु । जो पसिना चुहाउँदै । आँसु पिउँदै । रगत बगाउँदै । दैनिक आठदेखि अठार घण्टासम्म लगातार अजङ्गका ‘रोबटमेसिन’ संग पैठेजोरी खेल्छन् । पलाष्टिकका टनेलभित्र वाह्र घण्टाभन्दाबढि ननस्टप गुम्सिन्छन् । पशुपक्षींको रेखदेखमा रातदिन खटिन्छन् । आप्रवाशी मात्र होइन, स्वयम् यहीका नागरिकको पनि खटाइ उस्तै हुनेगर्छ ।

अनि, छाती पग्लेर बगेको पसिना, मुटु रसायर चुहियको आँसु र मन–मस्तिष्क पाकेर फुटेको रगतको थोपामा आफ्नो देश आकृती देख्छन् । जीजिविषाको आभाष पाउँछन् । र समृद्धिको खाका कोर्छन् मनमनै ।
हो, उनिहरुको खटाइ, लगाव, इमान र परिश्रमको अनुसन्धान गर्नुपर्नेछ तपाईले । उनीहरुको पसिना, आँसु र रगतको तागत र महत्व निचोड निकाल्नुपर्नेछ तपाइले ।

र अनुमान गर्नुपर्नेछ–स्वभाविकता, व्यवहार र आदारमा खड्केको अभावको । मनमा बल्किरहेको अस्थिरतार, अशान्ति र द्धिविधाको । अधुरा चाहना, अपुरा आकांक्षा र खुशीहरूको । इमान, स्वाभिमान र सम्मानमा लागेको चोट, पीडा र व्यथाहरुको ।

डा. भट्टराई ज्यु, तपाईले भिन्नता छुट्टाउनुपर्नेछ । कोरियाका विभिन्न उद्योग, कलकारखाना, कृर्षि र पशुपालन क्षेत्रमा नेपालीले गर्ने परिश्रम र उनिहरुले पाउने ज्याला र व्यवहारको । र पढ्नुपर्नेछ उनीहरुको अनुहार जो त्रिभुवन विश्वविद्यालयको सटिफिकेटको सिरानी हालेर अर्काको देशमा थड क्लासको थ्रिडि काम गर्नुपर्दाको पीडा र भोगाई ।

अनि सोच्नुपर्नेछ तपाईले–के तिनिहरुमा स्वदेशकै विकासमा खर्चने सोच र सामथ्र्यको अभाव छ ? के तिनिहरुमा खोज, आविस्कार र नयाँ–नयाँ विषयको जोखिम मोल्नसक्ने शक्ति छैन ? के राष्ट्रको उन्नती–प्रगतीका लागि लड्न उनिहरुको पाखुरीमा दम, लगाव र खुबी छैन ?

र तपाईले देख्नुपर्नेछ नागरिकको हितका निम्ती कृयाशील सरकारले अपनाएको प्रविधि, विधि र व्यवस्थापन । नीति, नियम र कानुन । शान्ति, सुरक्षा र सम्मान । विकास, रोजगारी र गुणस्तरीय जिवनस्तर । यातायात, आवास र सडक र । शैक्षिक तथा स्वास्थ, विमाका सुविधाहरु ।

राष्ट्रको उन्नती, प्रगति र समृद्धिका लागि नागरिकले अपनाएको इमान, स्वाभिमान र परिश्रम । झुकाव, लगाव र आधार ।

राजनीतिक दलले अपनाएको नागरिकप्रतिको उच्च आदार–सम्मान । जनतामैत्री नीति, विकासमैत्री रणनीति, राष्ट्रप्रतिको कतव्र्य, बाह्यराष्ट्रप्रतिको सम्मान, सद्भाव, प्रतिष्ठा र इज्जत ।

कर्मचारीतन्त्रले अपनाएको इमान्दारीता, बफादारीता, लगनशीलता र नागरिकप्रति दिलाएको सेवाभाव, संस्कार, संस्कृति, विश्वास, नैतिकता र जवाफदेहिता । कामगर्ने शैली र साधन ।

र तपाईले थाहा पाउनुपर्नेछ मिनटमिनटको महत्व । ६० सेकेण्डमा यीनीहरुले कति धेरै उत्पादन गर्छन् । श्रम, श्रमीक र ज्यालाको महत्व । प्रविधि र विधिले सरलीकृत गरेको सुविधाजनक जीवनशैली । शीप, क्षमता र चेतनाको स्तर । स्वास्थ, सुरक्षा र खानपानको स्तर ।

अनि तपाईले सोच्नुपर्नेछ, ५० देखि ६० वर्षकोबीचमा दक्षिण कोरियाले कसरी यति ठूलो छलाङ्ग मा¥यो । र आर्थिक, राजनैतिक, सामाजिक–साँस्कृतिक हरेक तवरमा आज विश्वको टप टेनभित्र प¥यो ।

कोरियाले यति छोटो समयमा कसरी यति लामो विकासको मार्ग तय ग¥यो ? तपाईले एक साता लगाएर कोरिया घुम्नुपर्नेछ । जमिनमाथि बनाइएका अग्लाअग्ला व्यवसायीक भवन र जमिनमुनी नौ स्टेपसम्म निर्मित टे«न लिग, विशाल नदि (हानखाङ) मुनीबाट कुदाईने टे«न । ड्राइवर विनै जमिनभन्दा ३० फिटमाथिको मेट्रो रेल । दुरीअनुसार निर्माण गरिएका सडक, यातायातका साधन र तिनिहरु कुदाउँनेको सम्मान, व्यवहार र आचरण । ट्राफिकप्रहरीबिनैको व्यवस्थित र मर्यादित सडक ।

लाखौजनालाई रौजगारी दिएको पानीजहाज कम्पनी, मोटर कम्पनी, विश्वबजारमा पु¥याउने इलेक्टोनिक्स कम्पनी, इत्यादी । उद्योग, कलकारखाना र त्यसवाट निस्केको रासायनीक तथा हानीकारण पदार्थको व्यवस्थापन । पर्यावरणप्रतिको चासो र स्वास्थप्रतिको चेतना । साथै, कृर्षिमा गरिएको आधुनिकीकरण । र बजार व्यवस्थापन । यावत..... ।

प्रकृतिले मात्रै हावा, पानी र जमिन दिएको कोरियाको हालको प्रतिव्यक्ति आय वार्षिक २८ हजार ०७१ अमेरिकी डलर छ । (बैंक अफ कोरिया गत मार्चमा प्रकाशित एक तथ्याङ्क)

जवकी, आर्थिक अर्थतन्त्रमा संगसंगै उदाएको हाम्रो देशको प्रतिव्यक्ति हालको आय बार्षिक ६ सय ८९ अमेरिकी डलर छ । (वल्डबैंकको तथ्याङ्क)

वल्डबैंकको तथ्याङ्कअनुसार १९६० मा कोरियाको ११ सय ०२ थियो भने नेपालको २ सय ६७ डलर थियो । यति धेरै अन्तर हुनको मुख्य कारण के ? तपाईले खोज्नुपर्नेछ ।

लाग्छ, गुनासाहरु कहिल्यै सकिदैनन् । समस्याहरु कहिल्यै समाधान हुदैनन् । जबसम्म तपाईजस्ता विद्धानहरुले राजनीतिको ढोका बन्द गरेर उद्योगको ढोला खोल्नसक्दैनन् ।

करिबकरिब ४० हजार नेपालीहरु कार्यरत दक्षिण कोरियामा तपाईलाई स्वागत छ । र तपाईको भ्रमणले राजनीतितर्फ उन्मुख होइन्, हाम्रो ध्यान उद्योग व्यवसायतीर उन्मुखहोस ।

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...