Sunday, January 8, 2017

कोरियाको रोजगारीमा ११३ जनाले ज्यान गुमाए


२०१६ मा २० जनाको निधन
निकुञ्ज तिवारी__________
सउल दक्षिण कोरिया, ८ जनवरी २०१७
death for nepalies workers in wouth korea 

नेपालीहरु रोजगारीका लागि दक्षिण कोरिया आउन थालेदेखि हालसम्म ११३ जनाले ज्यान गुमाएका छन् । सन् २०१५ मा सबैभन्दा धेरै २२ जनाको विभिन्न कारण निधन भएको थियो । भने २०१६ मा २० जनाको निधन भएको छ । त्यसैगरी यसवर्ष १ जनाको मृत्यु भएको छ ।

सन् २०१६ मा ७ जनाले आत्महत्या गरे । कम्पनी दुर्घटनमा ५ जना मारिए । सुतेकै अवस्थामा ४ जनाको निधन भयो । ह्दयघातका कारण १ जनाको निधन भयो । २ जनाले सडक दुर्घटनामा ज्यान गुमाए भने १ जनाले विरामी भएका कारण मृत्युभयो ।


आत्महत्या



४ वर्ष अगाडि स्याङ्जा पञ्चमुलबाट कोरिया आएका गनेशराज चापागाई (२४) ले फेब्रेवरी १७ राती आत्महत्या गरे । उनले कम्पनी नजिकैको रुखमा पासो लगाइ झुण्डिएर आत्महत्या गरेका हुन् ।


२ वर्ष अगाडि कोरिया आएका गुल्मी अर्खलेका विजय खत्रीले कम्पनीको क्वाटरमा झुण्डिएर आत्महत्या गरे । मार्च ६ तारिक दिउँसोपख मृत भेटिएका उनी ख्वान्जुस्थित टेक्स्टायल कम्पनीमा कार्यरत थिए ।

९ महिना अगाडि कोरिया आएका कन्चनपुरका मोहनसिंह बुढापाल (३४) ले कम्पनीको विममा झुण्डिएर आत्महत्या गरे । मार्च ६ तारिक आइतबार मृत भेटिएका उनी आन्सानस्थित एक फलाम कम्पनीमा कार्यरत थिए ।

यान्फ्याङस्थित फर्निचर कम्पनीमा कार्यरत २८ वर्षिय गोविन्द कडेलले कम्पनीको स्टोररुममा पासो लगाई आत्महत्या गरे । ३५ महिना अगाडि कोरिया आएका कडेलले मे १८ मा किन आत्महत्या गरे भन्ने बारेमा खुल्न सकेन ।

भोजपुरका ४३ वर्षिय लोकबहादुर राई झुण्डिएको अवस्थामा मृत भेटिए । मे २० तारिकका रात उनी झुण्डिएका थिए ।

(सेप्टेम्बर २०) दक्षिण कोरियाको राजधानी सउलमा नेपाली रेष्टुरेण्ट संचालन गर्दै आएका मनोज डाँगी मृत भेटिए । कोरियाका लामो समयदेखि व्यवसाय गर्दै आएका डाँगी नेपाली साहित्यमा कलम चलाउदै आइरहेका थिए ।

अक्टोबर ३ सोमबार विहान ३० वर्षिय नारायण पाण्डेले कम्पनीको गोदाममा विजुलीको तारले पासो लगाई आत्महत्या गरे । गुल्मी लुम्पेक घर भएका पाण्डे ४ महिना अगाडि कृर्षि भिषामा इपिएसमार्फत आएका थिए ।

कम्पनी दुर्घटनामा 


कुखुराको मासुकाट्ने कम्पनीमा कार्यरत गोर्खा बक्रामकी २९ बर्षिय सिर्जना पन्त कार्कीको ज्यान गयो । मे ६ शुक्रबार साँझ करिब ५ बजे काम सकिनेबेला मेसिनमा च्यापिएर मृत्यु भएको बताइएको थियो ।


जुन १ बुधबार पाल्पाका यामबहादुर थापामगरको कम्पनी दुर्घटनामा निधन भयो । इपिएस मार्फत करिब २३ महिना अगाडि आएका उनी थेगुस्थित एक पेपर कम्पनीमा कार्यरत थिए ।

ख्वन्जुकोे थेसोस्तिथ थर्मद इन्सुलेशन कम्पनीमा कार्यरत रुपन्देही मडिग्रामका ३९ वर्षिय नुभराज भुषालको चलिरहेको मेसिनले च्यापिएर अक्टोबर २९ मा ज्यान गएको हो ।

छल्लानाम्दो ख्वान्जुस्थित एक कम्पनीमा कार्यरत सुर्खेत साटापानीका २४ वर्षिय उत्तम पङ्गालीको कम्पनी दुर्घटनामा परी डिसेम्बर १३ मा निधन भएको थियो ।

फारानस्थित एक कम्पनीमा कार्यरत झापाका नविन राई (२३) को कम्पनीको सामान झार्ने क्रममा सोही कम्पनीको ट्रकले ठक्कर दिदा डिसेम्बर २३ मा मृत्यु भएको थियो ।


सुतेकै अवस्थामा मृत्यु



६ महिना अगाडि कोरिया आएका बुटवल घर भएका ३४ वर्षिय लोक भट्टराई मार्च ८ तारिक विहान सुतेकै अवस्थामा मृत भेटिएका थिए ।  उनि छल्लानाम्दोस्थित एक टमाटर फाममा कार्यरत थिए ।


किम्फुस्थित एक सिएन्सी कम्पनीमा कार्यरत पाचथरका जय राइको सुतेकै अवस्थामा मे १३ का विहान मृत्यु भयो । उनि एक वर्ष अगाडि कोरिया आएका थिए ।

बाग्लुङका हिरा पुनको जुन १८ रातमा सुतेकै अवस्थामा मृत्यु भएको भयो । फेन्तेकस्थित एक कम्पनीमा कार्यरत थिए ।

सउलबाट उत्तरतर्फ किम्फोस्थित एक मेटल कम्पनीमा कार्यरत तेह्रथुमका चौतिस वर्षिय दुधराम लिम्बुको सेप्टेम्बर १८ को रातीसुतेकै अबस्थामा मृत्यु भएको थियो । उनी तीन महिना अगाडि कोरिया आएका थिए ।
ह्दयघात


संखुवासभा मानेभन्ज्यानका ३४ वर्षिय ठाकुरप्रसाद याम्फु राइको २०१६ जनवरी १० को राती सुतेको अवस्थामा मृत्यु भएको थियो । कोरिया आएको ७ महिनामै उनको मृत्यु भएको थियो । छल्लानाम्दोस्थित एक बंगुर फाममा कार्यरत उनको मृत्युको कारण ह्दयधात भएको बताइएको थियो ।


सडक दुर्घटना


दक्षिण कोरियाको इन्छनमा मे ५ विहिबारको रातमा कारले ठक्कर दिदाँ इश्वर गुरुङको घटनास्थलमै निधन भएको थियो ।


त्यसैगरी, जुलाई ३० मा कार दुर्घटनामा परी पाल्पाका हेमन्त आचार्य (३०) को घटनास्थलमै निधन भएको थियो ।

विरामी 


कोरियन नागरिकसंग विवाह गरी आएकी दोलखा खोपाचाकुकी डोल्मा शेर्पाको फे्रवे्रवरी ३ तारिकका दिन निधन भएको थियो । उनी बोनम्यारो अभाव भएपछि सुवनस्थित आजु अस्पतालमा उपचार भइरहेको थियो ।


सन् २०१५ मा ८ जनाले आत्महत्या गरे । कम्पनी दुर्घटनमा ४ जना मारिए । सुतेकै अवस्थामा २ जनाको निधन भयो । ह्दयघातका कारण ४ जनाको निधन भयो । ३ जनाको मृत्युको कारण खुल्न सकेन । र १ जनाको हत्या भयो ।

दक्षिण कोरियामा रोजगारी र घरजममा आएका २००७ देखि हालसम्म  ११३ जना नेपालीको मृत्यु भएको छ । नेपाली दूताबास स्थापना भए यता ४ महिला सहित १११ पुरुषको मृत्यु भएको छ । कोरियामा करिब ४० हजारको हाराहारीमा नेपालीको बसोवास छ ।

सउलस्थित नेपाली दुतावासका अनुसार सन् २०१४ मा ८ जनाले ज्यान गुमाएका थिए । सन् २०१३ मा १८ नेपालीले ज्यान गुमाएका थिए । दुतावासको तथ्याङकमा मृत्युका कारण आत्महत्या, कम्पनी दुर्घटनामा, ह्दयघात, विरामी र कारण खुल्न नसकेको उल्येख छ ।

दुतावासको तथ्यांक अनुसार १० बर्षमा सुतेकै अवस्थामा मृत्यु हुने र आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै छ ।

दैनिक कामको ओभरलोड धेरै र सुताई वा आराम गर्ने समय थोरै भएमा क्रोनिक फटिकको लक्षण देखा पर्छ । त्यसले मानिसको जिउमा तागत नहुने, थकाइ मात्र लाग्ने, राम्रोसंग निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, पेट, जिउ दुख्ने, वाकवाकी लाग्ने र स्मरण शक्तिमा ह्रास आउनेजस्ता लक्षण देखा पर्छन् ।’

कोरियाको थेगुस्थित थेगु दोङसान अस्पतालमा कार्यरत नेपाली डाक्टर राजेशचन्द्र जोशीले भने दैनिक लामो समय काम गर्दा आराम र खानपानमा ध्यान दिनु आवश्यक हुन्छ ।’

आत्महत्या डिप्रेसनका कारण गरेको उल्लेख छ । पारिवारिक झमेला, एक्लोपना, भाषा, हावापानी, रात्रीकालीन काम र भिन्न सस्कृतिका कारण डिप्रेसन हुने गरेको उल्लेख छ । त्यस्तै, ज्यान गुमाउनुको मुख्य कारण पारिवारिक तनाब, लामो समय काम, खानपानमा ध्यान नदिनु, अत्यधिक मदिरा सेवन गर्नु र नियमित स्वास्थ जाँच नगाराउनु मुख्य कारण हुन् ।

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...