Wednesday, October 25, 2017

लघुकथाः डाक्टर

निकुन्ज तिवारी

----------------- डाक्टर बन्न छोरालाई शहर पठाएपछि बा दिनरात नभनी जोतिन्थे । कुनै महिना छोराको लागि खर्च नपुग्ने जस्तो बाले गुनासो गर्दा आमा पनि पटुका कसेर बासँगै जोतिन्थिन् ।

‘मेरो छोरो जुन दिन ठूलो डाक्टर बन्नेछ, त्यो दिन मेरो कुप्रिएको ढाड सोझिने छ ।’ चप्पलको चुँडिएको तुना गाँस्तै बा सहकर्मी मजदुरहरूसँग गफिन्थे र मज्जाले मुस्कुराउँथे ।
छोरो डाक्टर भएर घर फिर्न अब यति वर्ष, यति महिना, यति दिन, बाँकी छ भन्दै बाले औँला भाचेर दिन–रात गनिरहन्थे । छिमेकीहरु र सहकर्मीहरुसँग भनिरहन्थे ।
सपनिमा के गर्थे तर विपनीमा छोरा डाक्टर बनी गाउँकै अस्पतालमा बिरामीहरुको उपचार गरिरहेको कल्पना गरिरहन्थे । अनि काममा जाने बेला आँफैलाई ढाडस् दिदैं मुस्कुराउँदै भन्थे ‘ए, सानेकी आमा अब हाम्रा दुखका दिन सकिँदै छन् है ।’
बाको निरन्तर संघर्ष र छोराको मिहेनतको फल छिटै प्राप्त हुने दिन आउँदै थियो । बा हर्षित थिए । बाको मुहारमा चम्किएको खुशी हेर्दै आमाका आँखामा आँसु टिप्पीलाउँथे । बाआमाका अनुहारमा खुशीका रङ्गहरु फुलिरहेका थिए ।
छोराप्रति बाबुले निभाएको कर्तव्यको कठोर मिहिनेत देख्दा सहकर्मी मजदुरहरू बालाई देखेर प्रेरित हुन्थे । छिमेकीहरू पनि हर्षित हुन्थे । छोरा असल र ठुलो डाक्टर भई दिनदुःखिहरुको सेवा गरोस् भन्ने उनिहरूले कामना गरिरहन्थे ।
क्रमसः दिनहरु बित्तै गए । महिनाहरु बित्तै गए । र वर्ष वित्तै गए । अन्ततः छोरा डाक्टर बन्यो ।
डाक्टर बनेको छोरा घर आउने खबर पाएपछि बाले केहि दिनका लागि कामबाट बिदा लिए । सहकर्मी र छिमेकीहरुसंग हर्षका थुङ्गाहरु बाड्दै हिँडे । आमा पनि बा हर्षले गद्गद् भएको देखेर खुशीले प्रफुल्लित थिइन् ।
सबै गाउँलेहरु मिलेर गाँउमा वर्षौ पहिलेदेखि जिर्ण अवस्थामा रहेको स्वास्थचौकिको मर्मत गरे । केही रकम संकलन गरे । केहि थान कुर्ची, टेबल, दराज , अत्यवश्यक औषधी किने र आफ्नै गाउँले डाक्टरको लागि स्वागत गरे ।
केहि दिनमा डाक्टर बनेको छोरो घर आयो । बाआमाले खुशीका आँसुले स्वागत गरे । बाका सहकर्मी र गाउँलेहरूले बधाई, सुभकामना र आर्शीवाद दिए ।
बा घरमा जम्मा भएका गाउँले, छिमेकी, सहकर्मीहरुसमक्ष छोराले गाउँको स्वास्थचौकीमा बसी बिमारी भएका गाउँलेहरुको उपचार गर्ने बताउन नपाउँदै छोराले भन्यो– ‘बा, मैले शहरको एक अस्पतालमा जागिर पाएँ । अस्पताल नजिकै एक फ्ल्याट भाडामा लिएको छु । अब आमा र हजुरका दुखका दिन गए । हामी भोली बिहानै शहर बसाइँ सर्छौं ।’

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...