Wednesday, October 18, 2017

कोरिया प्रश्नैपश्न


निकुञ्ज तिवारी
.............................

nikunja tiwari
‘म भर्खर १८ पुगेर १९ बर्ष लाग्दैछु । विएस्सी फस्ट सेमेस्टरको स्टुडेन्ट हुँ । मलाई कोरिया आउने रहर छ । रहर मात्र होइन, बाध्यता पनि छ । कोरियन भाषा परीक्षा कहिले हुन्छ होला ? कोरिया आउन कति उमेर हुनुपर्छ र कति पैसा लाग्छ ?’

फेसबुक पेजमा दाई सम्बोधनमा आएको टेक्स म्यासेजको मैले सामान्य जानकारीमुलक रिप्लाई दिए । र सोधें –

‘ए भाई, यती सानै उमेरमा कोरिया नै किन आउनुप¥यो त ? बल्ल १९ वर्ष टेक्दै हुनुहुन्छ । र घरमै बसेर विएस्सी पनि पढ्दैहुनुहुन्छ ।’

मैले टेक्स म्यासेज पठाए । र जिक्कियको स्टिगरसहित लेखें ‘तपाईको ओठ निचो¥यो भने दुध आउन सक्छ ? सायद, जुंगाको रेखी पनि बस्न पाएको छैन होला ? यस्तो कलिलो उमेरमा कोरिया आएर के गर्नुहुन्छ ? कोरिया तपाईले सोचे जस्तो सजिलो पनि छैन । त्यसैले, नेपालमै आफ्नो करियर बनाउनतीर लाग्दा उचित हुन्छ नी ।’ 

भोलीपल्ट जवाफ आयो ‘के गर्नु दाई ? नेपालमा बसेर ? तपाई जान्न चाहनुहुन्छ ? एकपटक नेपाल आएर हेनुर्स् ।’ उनले ठुस्सिएको स्टिगरसहित टेक्स म्यासेज पठाए । ‘दाई, म तपाईको फेसबुकको फलोहर हुँ र सुभचिन्तक पनि । यो सानै उमेरमा प्रदेश पस्नु मेरो पनि रहर कहाँ हो र ? समाज र राष्टको परिस्थिति र पारिवारको बाध्यताअनुसार नै मैले सोँच बनाएको हुँ । यदि, सक्नुहुन्छ र चाहानुहुन्छ भने कोरिया आउने उपाय बताइदिनुहोस् । आभारी हुने थिए ।’

कोरियाका कति कुरा सुनाएँ । स्वदेशका कति कुरा बुँझाए । सक्नेजति फकाए । अलिकति आफ्नो पन देखाएँ । अलिकति प्रदेशका दुख देखाएँ । अलिकति आश्वासन देखाएँ । फेसबुककै नाता हो । तैपनि अलिकति स्नेह देखाएँ । र कोरियन भाषा होइन, विएस्सीनै नियमित पढ्न लगाएँ । 

त्यसपछिका दिनदेखि उनीसंग नियमित म्यासेज आदानप्रदान हुँदैछ । उनले विएस्सी पास गरेर मास्टर डिग्रीको पहिलो बर्षमा अध्ययनरत छन् । अत्यन्तै अध्ययनशील, मिहेनती र समझदार छन् । अहिले उनी विहान कलेज र दिउसो एक स्कुलमा कार्यरत छन् । मासिक २५ देखि ३० हजारसम्म कमाउने गरेको म्यासेजमा लेख्छन् ।
तर, केहीदिन अगाडि उनको म्यासेज आयो ‘दाई, मैले कोरियन भाषा पढ्न थाले । तपाईको कुनै प्रतिक्रिया ?’

नेपाली समाजका उनी एक प्रतिनिधि युवा हुन् । नेपालबाट दैनिक सरदर दुइ हजार युवाले परिवार, समाज र राष्ट्र छोडेर विदेश पलायन हुन्छन् । भने सोच त कतिले बनाउँछन् बनाउँछन् । रोजीरोटीका निम्ती । जसमध्य अधिकाशंको लागि दक्षिण कोरिया निकैनै आर्कषकको केन्द्र हो ।

दक्षिण कोरियामा हाल करिब ५५ हजार नेपालीहरुको बसोबास छ । जसमध्य ५० हजार इपिएसमार्फत आएका छन् । आउनेक्रम पनि जारी छ । भने प्रश्न र समस्याहरु पनि चुलिदै छन् ।

नेपालबाट आउने जिज्ञासाहरु :

१. म कोरिया आउन चाहन्छु, कसरी आउने होला ?

२. कोरियन भाषा पास गर्न गाह्रो छ । त्यसैले म अन्य बाटोबाट आउन चाहान्छु । जसका लागि म १० लाख रुपैयाँसम्म खर्च गर्न तयार छु । कत्तिको सजिलो छ ? कोरियामा मासिक कति लाखसम्म कमाउन सकिएला ?

३. यसपालीको भाषा परीक्षामा कति ल्याए पास भइएला ? र कति पास होलान् ? र कति कोरिया जान पाउलान् ? लेबर कन्ट्याक कहिलेदेखि आउला ? मेरो यति वटा उत्तर मिलेको छ । म पास हुलाँ की नहुला ?

४. म पढ्नको लागि कोरिया आउन चाहान्छु । कसरी एप्लाइ गर्ने होला ? कुन सब्जेट पढ्दा राम्रो होला ? परिवार लान पाइन्छ की पाइदैन ? ग्रीन कार्ड पाइन्छ की पाइदैन ? स्टुडेन्ट भिषामा गएर पैसा कमाउन कत्तिको सहज छ ? 

५. कृर्षीमा राम्रो की मेनुमा ? एग्रीमा कस्तोकस्तो काम पाइएला ? कति समय खट्नुपर्छ ? ओभरटाइम हुन्छ की हुँदैन ? खानाबस्न दिन्छकी दिदैँन ? मेनुफेक्चरमा वेसिक कमाइ कति होला ? कति समय काम गर्नुपर्ला ? ओटी, बोनस कति देला ? काम गाह्रो भयो भने अर्को चेन्ज गर्न मिल्ला की नमिल्ला ?

६. आगामी वर्षको भाषा परीक्षा कहिले होला ? परीक्षाको कोर्ष फेरिएला की नफेरियला ? कोटा कति आउँला ? मेनुफेक्चरमा भर्दा राम्रो की एग्रीमा ? उमेर कतिदेखि कतिसम्म ? योग्यता कति चाहिएला ?

७.अबको सिविटि परीक्षा कहिले होला ? कृर्षिमा गएकोले सिविटि दिदा मेनुमा भर्न पाउलाकी नपाउला ? सिविटि दिदाँ कत्तिको ग्राह्रो प्रश्न आउला ? सिविटि पास गरे कोरिया जाने ग्यारेन्टी होला की नहोला ?

८.म पहिला अबैधानिक भएर बसेको थिए । अध्यागमन विभागले समात्यो र नेपाल पठाइदियो । अव म कोरिया आउन पाउछु या पाउँदिन होला ? अनि सिविटि दिन पाउँछु की पीविटि दिनुपर्छ ?

कोरियामा नेपाली कामदारको संख्या बढेसंगै समस्या र गुनासा र सवाल पनि बढिरहेका छन् । त्यसमध्य औधोगिक उत्पादन क्षेत्रको दाँजोमा कृर्षि तथा पशुपालनमा अधिक छन् ।

रोजगारदाताले समयमा तलब नदिने । सरकारले तोकेको ज्याला र सेवासुविधा नदिने । साप्ताहिक विदा र रातो विदा नदिने । खाना र बस्नका लागि आवश्यक सामाग्री नदिने । विरामी र चोटपटक लाग्दा उपचार विमा र समय नदिने । चाहेको बेला घरविदा नदिने । रोजगारस्थान परिवर्तनका लागि स्वीकृति नदिने । न्युनतम ज्यालामा बढि काम लगाउने । अतिरिक्त कामको पैसा कम दिने । रातीको कामको पनि दिनकै समान ज्याला दिने । कार्यस्थानमा तनाब र गाली दिने लगायत ।

१. मेसिनमा परेर मेरो हात काट्यो । साहुले सान्जे विमा गर्दिएको छैन । अब यस्तो वेला मैले के गर्ने ? कम्पनीले मलाई न्युनतम ज्याला देला की नदेला ? जसका लागि मैले कहाँ सम्पर्क राख्न सक्छुहोला ? 

२.म कोरिया आएको एक महिना हुन लाग्यो । कम्पनीमा काम साह्रै गाह्रो छ । म अर्को कम्पनी चेन्ज गर्न चाहान्छु । यसको लागि मैले के गर्नुपर्ला ? र साहुले लेटर दिएन भने के गर्ने होला ? अनि काम छोडेको बेला कहाँ बस्ने होला ? सजिलो र धेरै तलब, बोनस र विदा भएको कम्पनी खोजिदिनुहुन्थ्यो की ? कतातीर काम धेरै पाइन्छहोला ?

३. साहुले स्वास्थ कार्ड बनाइदिएन । कहाँ सम्पर्क गर्नेहोला ? 

४. कम्पनीमा कार्यरत पहिला आएको नेपालीले काममा यातना दियो । साहुसंग लेटर मागेको दिदैन । काम पनि गाह्रो छ । बस्नको व्यवस्था राम्रो छैन । यस्तो बेला मैले के गर्ने होला ?

५. कम्पनीमा मेरो कारण धेरै क्षति भो । गाडी चलाउँदा ठोकियो । भाषाका कारण मेसिन अपडेट गर्न गाह्रो भो । तलब काट्ने कुरा गरेको छ । र मलाई पनि निकाल्ने कुरा गरेको छ । काम चेन्ज गर्ने अप्सन छैन । कसो गर्ने होला ? भिषाअबधि थोरै छ ? 

६. इ–९ भिषाबाट इ–७ बनाउने कसरी हो ? हामीले विद्यार्थी भिषामा चेन्ज गर्न पाइन्छ की पाइदैन ? इपिएस भिषावालाले परिवार ल्याउन पाइन्छ की पाइदैन ? 

७. मेरो भिषा अवधि सकिदैछ । भाषा पनि त्यति राम्रो आउँदैन । र सिविटि दिने उमेर पनि सकिन लागेको छ । कोरियामा षणनर्थी जी–वन भिषा बनाउने कसरी ? 

८. कम्पनी बन्द भयो । मेरो तलब पाएको छैन । अव कहाँ सम्पर्क गर्नुपर्ला ?

९.मलाई ढाडको समस्या छ । पीनासको समस्या छ । रिंगटा लागिरहन्छ । ग्यास्टीकको समस्या छ । डिप्रेशनको औषधी खाइरहन्छ । पीसावको समस्या छ । पायल्सको समस्या छ । आधी टाउँको दुख्ने समस्या छ । आँखा दुख्ने समस्या छ । तर भाषा आउँदैन । कोरियामा नेपाली डाक्टर छैनन् ? कसरी सम्पर्क राख्ने होला ?

१०. म विदा लिएर नेपाल जाने तयारी गर्दै छु । नेपाल गएर के गर्नुपर्छ र फर्कदा स्वास्थ इन्स्युरेन्स, श्रम स्वीकृत लिनुपर्छ की पर्दैन ? फर्कदा साहुले अवैधानिक बनाइदिन्छकी ?

११. यहाँबाट बैंकमार्फत पैसा पठाउने तरीका कसरी हो ? नेपालमा खाता खोल्ने कसरी हो ? मैले पठाएको पैसा पुगे नपुगेको कसरी थाहा पाउने ? आजको रेट कति छ ? हुण्डी सस्तो की बैंक ? कोरियाका कुनकुन बैकबाट पैसा पठाउन मिल्छ ? शुल्क कति लाग्छ ? 

११ हुण्डीबाट पठाएको पैसा हुण्डीवालाले दिएन । भ्वाइपको पैसा दिएन । सापटी लगेको पैसा दिएन । साहुले तलब दिएन । थेजिकम बापत आउने पैसा दिएन । कहाँ उजुरी गर्ने होला ?

१२. सगै काम गर्ने कोरियनले पिट्यो । फलानो देशको मान्छेले अभद्र व्यवहार ग¥यो । हात हाल्यो । कहाँ उजुरी गर्ने होला ?

१३.म कोरिया छु । नेपालमा मेरो नाममा भएको पैसा निकाल्नु प¥यो । घर,जग्गा, पसल बेच्नुप¥यो ? कुनै उपाए छ की ? 

१४. अर्को वर्षका लागि कति तलब बढ्ला ? बढेको तलब साहुले देला की नदेला ?  

छोटो समयमा चरम विकासको फड्को मारेको दक्षिण कोरियामा करिब २० लाख आप्रवाशीहरु बसोवास गर्छन् । जसमध्य वैधानिक कामदार १० लाखको हाराहारीमा छन् । भने अवैधानिक रुपमा रहेका कामदारहरु ३ लाख भन्दा बढि छन् । 

पछिल्लो एक आँकडा अनुसार कोरियामा ५५ हजारको हाराहारीमा नेपालीहरु बसोवास गर्छन् । जसमध्य ५० हजारभन्दा बढि इपिएस कामदार छन् । तर उनिहरुको गुनासो सुन्ने र सुझाब दिने निकाय सुन्य प्रायः छ ।

‘नेपाली दुतावासले म¥यो भने ढिलोचाडो लास पठाइदिन्छ । कामदारका लागि अन्य काम खासै गर्दैन ।’ गत आइतबार सउलमा भेटिएका एक नेपालीले भने । ‘यहाँको दुतावास नेपाली कामदारमैत्री छैन ।’

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...