Saturday, February 24, 2018

पोतेमा व्यङ्ग्य खोज्दै शेषराज


निकुञ्ज तिवारी....

‘नौ सय जन्तीका साथ आँफैले नौमति बाजा बजाएर नौ लाखका गहना किनेर, नौ डाडा कटाएर, नौ थरी क्रिम पाउडरका साथ झकिझकाउ पारेर रातारात भित्रयाएकी साथीले नौ महिना नहुँदै आइन्दा नौ घण्टा पनि साथ दिन नसक्ने भनेर खुट्टा लुलो पार्न थालिन् । ल अब भन्नुहोस्, अब कसको साथ खोज्नुहुन्छ ?’

‘तावाबाट उफ्रिएको माछो भुङ्ग्रोमा व्यङ्ग्यवेद–४’ मा समाबेश गरिएको ‘साथी कति जाति’ शीर्षकको यो हास्यव्यङ्ग्य निबन्धमा तामझामकासाथ बिहेगरी घरभित्र्याइएकी नबदुलहीले गरेको घातप्रति व्यङ्ग्य गरिएको छ । पछिल्लो समय नेपाली समाजमा घटिरहेको यो ज्वलन्त उदाहरण पनि हो । निवन्धमा उनले अफ्ठ्यारो परिस्थितिमा साथ दिने नै अशल र आत्मिय साथी हुन्छ भन्ने भावार्थ प्रस्तुत गरेका छन् ।

पोखराको मध्यभागमा छ महेन्द्रपुल बजार । त्यहीँ महेन्द्रपुलमा करिब करिब सत्ताइस वर्षदेखि संचालनमा आएको बुद्ध विशाल बजार छ । बजारको पूर्वतीर मुख्यद्धारको दायाँसाइडको पाचाौंं सटरमा एक सानो पोते पशल छ । झण्डै बाइस वर्षदेखि संचालनमा आएको त्यहीँ पोते पशलमा कहिले सेन्टिमेन्टल त कहिले रोमान्टिक गीत सुन्दै मसिनो रङ्गिन धागोमा रङ्गीनै पोते उनिहरेको अवस्थामा भेटिन्छन् एकाउन्न वर्षिय पोते साहुजी व्यङ्ग्यलेखक शेषराज भट्टराई । खोटाङ्को विकट गाविस सुङ्देलमा जम्मिएर पोखरालाई कर्मथलो बनाएका उनी अत्यन्तै व्यस्त व्इवसाय पोतेकैबीच साहित्यसाधनमा तल्लिन छन् ।

‘प्रायः पसलमा म एक्लै हुन्छु । गीत सुन्दै पोते उन्छु । जीवनका आरोहअवरोह सम्झिन्छु । अरुले दिएका घात–प्रतिघात सम्झिन्छु । कहिले भावुक हुन्छु । कहिले रोमान्टिक हुन्छु र घरफर्केपछि खानाखाईवरी सबै सुतेपछि म लेख्न बस्छु ।’ रातको समयमा लेख्न रुचाउने उनले सुरुका दिनमा स्थानिय र राष्ट्रिय पत्रपत्रिकामा चुपचाप हास्यव्यङ्ग्य छपाए । पछि तिनैलाई किताबको रुप दिए । हालै उनले पाँचौं कृति ‘धर्मको धोक्रो’ बजारम ल्याएका छन् । 

पसल र आवासको दुरीको बाटो जम्मा बाह्र मिनेटको छ । उनि, विहानीको खाना खाएर आरामले पसलतर्फ आउँछन् । ‘म आरामले ढल्किदै ढल्किदै आइरहेको हुन्छु ।’ भावुक छन् । तर ठट्यौली पारामा बोल्छन् ‘ग्राहकहरु खाउँला झै प्रलक्क घुरेर हेर्छन् । म मुसुक्क मुस्कुराइदिन्छु । उनिहरु कुल हुन्छन् । र फटाफट चुरापोते अडर गर्छन् । र खनखनी पैसा तिरेर फर्कन्छन् ।’ 

पसलमा नानाथरीका ग्राहक आउने र कतिपयको व्यवहारका कारण उनिहरुकै विषयबनाई लेख लेख्न पोत्साहन मिल्ने उनको अनुभव छ ।  ग्राहकवर्गको सन्तुष्ट्रिलाई नै आफ्नो सन्तोष मान्ने लेखक भट्टराईलाई व्यवसायी बन्छु भन्ने लागेको थिएन । तर जीवनको कुनै मोडमा लेखक बन्छु भन्ने लागेको सम्झिन्छन् । ‘व्यवसायी त होइन, लेखक बन्छु भन्ने लागेको थियो । तर अहिले दुबै भएको छु । दुबैतिर सन्तोष छु । खुशी पनि ।’ 

दुईदशक लामो व्यापारीक अनुभवले खारिएका उनी अनुहार हेरेरै ग्राहक चिन्छन् । ग्राहकको लबज अन्दाज गरेरै व्यापार गर्छन् । उनी भन्छन् ‘यिनै पोतेलेनै खानाबस्न, बालबच्चा र श्रीमतीको रहर र चाहनाहरु किन्न सकेको छु । किताव लेख्न र छपाउन सकेको छु । र कहिलेँकाहीँ हबाइजहाज चढ्ने रहर पनि पुरा गर्ने गरेको छु । र त म यि पोतेका दानाहरुलाई माया गर्छु । र यिनीहरु पनि मलाई ।’

कहिलेँकाही अक्कलझुक्कल म जाँदा उनी दुख, पीडा र चोटका गुनासा मात्र होइन अनौठो तर रमाइला किस्सा पनि सुनाउँन भ्याउछन् । 

‘मान्छेले मलाई मान्छे नै गन्दैनन् ।’ मान्छेहरुले उनलाई मान्छे नगनेकोमा उनी कुनै व्यङ्य नगरी सिदै मुस्कुराउँछन् । ‘म यहीँ खुरुखुरु पोते उनिरहेको हुन्छु । मान्छेहरु मलाई देख्दैनन् । र सोध्छन् यहाँ मान्छे छैन की क्याहो ?’ म हाँसिदिन्छु र भन्छु ‘म यहीँ छु त ।’ उनिहरु ‘ए तपाईँ हो ?’ भन्दै मान्छे चिन्ने प्रयास गर्छन् ।’ उनले मुस्कुराउँदै भन्छन् । ‘अचम्म लाग्छ, मान्छेहरु मलाई मान्छै नै गन्दैनन् ।’

ग्राहकारहरुले मान्छे अर्थात साहुजी नचिनेकोप्रति उनको कुनै गुनासो छैन । एकछिन हाहाहा गरी हासिदिन्छन् र टारिदिछन् । तर, भनाउँदा साहित्यकारहरुले उनलाई नचिनेकोप्रति भने उनको गुनासो छ । ‘जसले मलाई लेख्ने हौसला थपिदिन्छन् । लेख्ने झन् उर्जा मिल्छ । जाँगर चल्छ ।’

भैरब प्रतिभा पुरस्कार प्राप्त गरेका उनी कुनै सभा समारोहमा जादैनन् । साहित्यिक गोष्ठी सेमिनार धाउँदैनन् । बाहिर चिनिन चाहदैनन् । कसैको नजरमा पनि साहित्यकार भनेर चिनिन नचाहने उनी कर्ममा विश्वास राख्छन् । ‘कर्म गर्नुपर्छ । कर्मको फल पाइन्छ ।’

‘स्कुले जीवनदेखिनै साहित्य लेखनमा लागेका उनले पचासको दशकदेखि विभिन्न पत्रपत्रिकामा लेख रचना छपाउँदाछपाउँदै पहिलो कृतिका रुपमा ‘ऋषिमुनिका सन्तान सिसीमुनि’ व्यङ्ग्यवेद–१ (२०५९) प्रकाशित गरे । त्यसपछि ‘जातले पकाएको भात’ हास्यव्यङ्ग्य सङ्ग्रह–(२०६७), ‘कहिले सासुको पालो कहिले बुहारीको पालो’ व्यङ्ग्यवेद–३ (२०६९), तावाबाट उफ्रिएको माछो भुङ्ग्रोमा’ व्यङ्ग्यवेद–४ (२०७१) र धर्मको धोक्रो व्यङ्ग्यवेद–५ (२०७४) गरी पाँच कृति बजारमा ल्याए ।

व्यङ्ग्यमार्फत मुलुकको विसङ्गतिप्रति असहमति जनाउदै आदर्शमुलक समाजको परिकल्पना गर्नु उनको मुख्य विशेषता हो । समाज परिवर्तन र प्रवृत्ति परिवर्तनको सङ्खघोष गर्नु उनका निवन्धका विशेषता हुन् ।

विभिन्न उखान, टुक्काको प्रयोग गर्दै देशप्रेम, माटोप्रेम, समाजप्रेम र संस्कृति र संस्कारलाई अगाल्दै समाजमा घटिरहेका विकृति, विसङ्गति, भष्ट्राचार, व्यविचार, ढिलासुस्तीप्रति व्यङ्ग्य गर्न उनी खप्पिस छन् ।

नेपाली हास्यव्यङ्यका विदाका पाँच कृति बजारमा ल्याइसकेका भट्टराईको हास्यव्यङ्ग्य लेखन बेजोड छ । उनले निवन्धमा हास्यकला, शव्दकला, बाक्यकला, उखानटुक्काकलामा विशेष ध्यान दिएका छन् । उनका कृति पढिसकेपछि पाठकलाई सम्झिसम्झि हाँस्ने बनाएका छन् । त्यसइतर उनका व्यङ्ग्यात्मक निबन्धले घोरिन र भावुक भई समाजका विभिन्न पाटाका विकृति, विसङ्गति विरुप सोच्न बाध्य बनाउँछन् ।

निवन्धभित्र विभिन्न उखान, टुक्का प्रयोग गरी पठनयोग्य बनाउनु उनको लेखनको कला हो । सामाजिक, आर्थिक र राजनीतिक जीवनका समसामयिक विषयलाई केन्द्रविन्दु बनाएर उनले कलम चलाएका छन् । त्यसइतर सामाजिक चेतना, सन्देश र नैतिक शिक्षा दिनु उनको अर्को मुलभुत पक्ष हो ।

समाज, संस्कृति र मानविय विकृत प्रवृत्तिको चिरफार गर्दै समतामुलक एवम् आदर्शमुलक समाजको परिकल्पना गर्नु उनको निबन्धको वैशिष्ट्ठ हो । छोटा–छोटा बाङ्किमा विशिष्टकला घुसाउदै व्यङ्ग्य लेख्नसक्नु उनको जाँगर हो । खुबी हो । र उत्साह हो । 


‘बास्तबमा नेपाल पो दुगन्धमय छ त । यहाँका नेता, सांसदहरु त सुगन्धमय नै छन् । अनि नेपाल पो गरीब छ त । नेपालीहरु कहाँ गरीब छन् र ?’

बिगत केहि वर्षयताको नेपाली राजनीति र त्यसले समाजको विभिन्न क्षेत्रमा पारेको नराम्रो छापलाई उनले तिखो व्यङ्ग्य गरेका छन् । नेपाल पो गरीब छ नेपालीहरु त कहाँ गरीब छन र ?

दुई स्वास्नीको पोई कुना पसी रोई, मलामी, ऐना, खामभित्रको दाम, पर–जा–तन्त्र मा ह्वीप, खोपडीको घनत्व, स्वादे जिब्रो अल्छे जिब्रो, सहरको सहभोज, खुल्ला दिशा मुक्त क्षेत्र, गोहीको आँसु बगाएर गोजी भर्नेहरु, चोकमा सबैथोक, खटाएको मानु कति खानु, कहिले सासूको पालो कहिले बुहारीको पालो, आइमाइ आगो काल र समुन्द्र, जातले पकाएको भात चाखेर हेर्दा, सति जाने पति, ससुरालीको सिधाः सधैलाई विदा, न्यायका नोकरहरु, उपियाँ र रुपियाँ, छोराछोरी बराबरी, सुत्ने बेलाको रिन खाने बेलाको घिन, पोहोर मरिन् सासू अहिले आयो आँसु, साथी कति जाति, जहाजको यात्रा, हाँसोको चासो, बोटको भोट बडाबडा ओठ, भुइँचालो र स्वास्नीसंगको सङ्गत, नमस्कारको लत, हेलाको फेला, इच्छापत्रको इतिहास, डाक्टरको डर, मोदि महात्म्य, पुच्छर व्यापार लगायतका हास्यव्यङ्ग्य निबन्ध बेजोड छन् ।

सिस्नोपानी नेपालका हास्यकलाकार लक्ष्मण गाम्नागेले उनको बारेमा भनेका छन् ‘हाँसो हराएको बर्तमान समयमा हाँसौ र व्यङ्ग्यको बेजोड सन्तुलनद्धारा पाठकलाई काउकुति लगाउन खप्पिस छन् शेषराज भट्टराई ।’
http://nagarikplus.nagariknews.com/epaper/src/epaper.php?id=3313#page/22


No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...